प्रहरी महानिरीक्षक थापा घर जाँदै, भोलिदेखि खापुङले कमान्ड सम्हाल्दै


काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी तथा टेकबहादुर तामाङले बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् ।

दुई एआईजी र महानिरीक्षक थापा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन परेको हो। उनीहरू तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए। थापाले गत ५ चैतदेखि प्रहरीको नेतृत्व गरेका थिए। नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी बिदा भएका हुन् ।

गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार गृह मन्त्रालयमा थापा, गिरी र तामाङको बिदाइ गरेका हुन् । सरकारले अघिल्लो साता चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिसकेको छ ।

तीनैजनालाई बुधबार प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पुर्‍याउने तयारी छ । उनीहरूलाई भावी प्रहरी महानिरीक्षक खापुङले बिदाइ गर्नेछन् । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्। उनले ५९ दिन प्रहरी संगठनको नेतृत्व गर्नेछन् । खापुङ कात्तिक अन्तिम साता अनिवार्य अवकाशमा जानेछन् ।

गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ काठमाडौँ उपत्यका प्रही कार्यालय रानीपोखरीको प्रमुख छन्। यससँगै चारजना एआईजीको दरबन्दी पनि रिक्त हुँदैछ।