प्रहरीको उर्दीले उपत्यकावासी तनावमा, सर्वत्र आलोचना


काठमाडौं – नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलाएर खाना नपकाउन सूचना जारी गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले शुक्रबार सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन भनेको हो ।

प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ ।

सूचनामा मोटरसाइकल वा अन्य सवारीसाधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालू गर्न पनि भनिएको छ ।

‘विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खासगरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यतासमेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरुमा समेत प्रतिकूल असर पर्ने जाने भएको हुँदा तपाईको घर, परिवार र छिमेकीहरूको हितका लागि निम्न कार्यहरू पालना गर्नुहुन अनुरोध गरिएको छ,’ प्रहरीको सूचनामा भनिएको छ ।

प्रहरीले फोन कल गर्दा आवाज कम गर्न, हेडफोन प्रयोग गर्न म्यासेजमै संवाद गर्न आग्रह गरेको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगर्न, अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, राति अवेर शौचालय प्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन, राति अवेर वा बिहान सबेरै प्रेसर कुकरमा सिड्डी लगाउने कार्य नगर्न भनिएको छ ।

प्रहरीको यस्तो उर्दीपछि अहिले सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ । धेरै प्रयोगकर्ताले अनावश्यक रूपमा प्रहरीले सूचना जारी गरेको भन्दै त्यसप्रति व्यंग्य गरिरहेका छन् ।