सामाजिक सञ्जाल बन्द भएपछि के कस्तो असर पर्ला ?


काठमाडौं । सरकारले बिहीबार रातिदेखि २६ वटा सामाजिक सञ्जालका प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको छ । त्यसका लागि सरकारले सर्वोच्च अदालतको आदेशलाई प्रमुख कारण देखाएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक, ट्विटर (एक्स) लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्रमश? बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सूचीकरणका लागि नआएका प्ल्याटफर्मलाई नेपालभरि नचल्ने गरी रोक लगाउन लागिएको हो ।

बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ । ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । १२ गते सरकारले एक साताको समय दिएको थियो । उक्त म्याद बुधबार रातिदेखि सकिएको थियो ।

बन्द गरिन लागेको सामाजिक सञ्जाल प्लेटफर्ममा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन् ।

सरकारको यो निर्णयको अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । अदालतको आदेशलाई वहाना देखाएर सरकारले सोसल मिडिया निष्क्रिय गर्ने निर्णय घातक रहेको र यो अभिव्यक्ति स्वतन्त्रता र अरु धेरै हिसावले खेद व्यक्त गर्नुपर्ने विषय भन्दै विरोध सुरु भएको छ ।

यो अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण पनि भएको सर्वसाधारणको भनाइ छ । आलोचना, असहमति र स्वतन्त्र संवादलाई दबाउने यो प्रवृत्तिले सरकारको तानाशाही मानसिकताको स्पष्ट झल्को दिने सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ ।

अहिले प्रत्येक नेपाली जनता एउटा न एउटा सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । अधिकांश नेपाली परिवारका युवा बाहिर छन् । तिनै आप्रवासीले देशको अर्थतन्त्र धानिरहेको अवस्था छ । र, उनीहरुको नेपाल वा घरसँगको सम्बन्धका लागि सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ सामाजिक सञ्जाल । यी कुरा एकाएक बन्द हुँदा त्यो क्षेत्रमा विशेष असर गर्नसक्ने समाजशास्त्रीहरूको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक र उनीहरूका परिवारको सामाजिक–भावनात्मक सम्बन्धमा ठूलो असर पार्ने देखिन्छ । सञ्जालले विदेशमा रहेका श्रमिकलाई परिवार, समाज र संस्कृतिसँग जोडिराखेको छ । यी प्लेटफर्म बन्द भएमा श्रमिक र परिवारबीचको भावनात्मक सम्बन्ध टुट्छ, जसले नैराश्यता, एक्लोपन र मनोवैज्ञानिक दबाब बढाउने खतरा पनि छ ।

त्यति मात्र होइन, सामाजिक सञ्जाल अहिलेको युगमा व्यवसाय र कम्युनिकेसनको प्रमुख आधार बनिसकेकाले नेपालको अनौपचारिक अर्थतन्त्र प्रभावित हुनसक्ने जोखिम धेरै छ । त्यसैले पनि सरकारको यो निर्णयको आलोचना भइरहेको हो । नेपालमा सामाजिक सञ्जाल मार्केटिङको सबैभन्दा ठूलो प्लाटफर्म बनिसकेको छ । यो बन्द भएमा व्यवसाय र बिक्रीमा ठूलो धक्का लाग्ने देखिन्छ ।

अहिले कुनै पनि कम्पनीका ग्राहकदेखि बिक्रेतासम्म सामाजिक सञ्जालमा भर पर्न थालेका छन् । सामान किन्दा वा चाहिएको कुरा खोज्दा धेरैजसो सामाजिक सञ्जालमै भर पर्ने गरेका छन् । त्यसैले यो बन्दा हुँदा मार्केटिङ सबैभन्दा ठूलो च्यानल गुम्ने छ । सामाजिक सञ्जाल बन्द हुँदा नयाँ स्टार्टअप गर्ने सोच बनाएका युवालाई पनि यसले निरुत्साहित गर्ने छ । लाखौं दक्ष जनशक्ति बाहिरिने जोखिम छ ।

यसअघि टिकटक बन्द हुँदा २.२ मिलियन प्रयोगकर्ता प्रभावित भएको र त्यसले साना व्यवसाय, कन्टेन्ट क्रिएटर र मार्केटिङमा ठूलो आर्थिक क्षति भएको थियो । फेसबुक र इन्स्टाग्रामबाट चल्ने व्यवसायहरूको अवस्था झनै नाजुक हुने निश्चित छ । सामाजिक सञ्जालले अनौपचारिक अर्थतन्त्रलाई चलायमान बनाएको छ, जसमा लाखौंको रोजगारी जोडिएको छ । यसले गर्दा ठूला आर्थिक धक्का लाग्ने छ ।