भ्रष्ट नेताहरूका कारण आफूहरूको भविष्य बर्बाद भएको भन्दै जेनजी पुस्ताले देश थर्काउने


काठमाडौं – सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार देशभर प्रदर्शनको तयारी गरेका छन् । नेताहरुको भ्रष्टाचारका कारण आफूहरुको भविष्य बर्बाद भएको भन्दै ‘जेनजी’ पुस्ताले यस्तो अभियान थालेको हो।

यो समूहले सोमबार सामाजिक सञ्जालमाथि नियन्त्रण र भ्रष्टाचारको विरोधमा काठमाडौंमा प्रदर्शनको लागि आह्वान गरेका छन्। काठमाडौंमा संसद् भवन अगाडि र अन्य सबै जिल्लामा सदरमुकाममा विरोध प्रदर्शन हुने बताइएको छ ।

उनीहरूले टिकटकमार्फत अभियानको घोषणा गरेका छन् । उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने स्पष्ट पारेका छन् । नेपालमा मौलाइरहेको भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरु स्वतस्फूर्त सडकमा उत्रिने उनीहरुको विश्वास छ ।

खासगरी सामाजिक सञ्जाल टिकटकमा नेताहरुका सन्तानको महंगो र आलिसान जीवनशैली ‘एक्सपोज’ गर्दै उनीहरुले जनताको कर दुरुपयोग गरेको भनेर अभियान थालिएको छ। पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रहरी प्रमुखलगायतका सन्तानको जीवनशैलीमाथि पनि प्रश्न गरिएको छ । यसमा कलाकार तथा कन्टेट क्रियटरहरुले पनि साथ दिइरहेका छन्।