काठमाडौं । सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिएका छन् । सोमबार बिहान ९ बजेदेखि जेनजी माइतीघर मण्डलामा जम्मा भएका छन् ।स्कुल र कलेजको ड्रेससहित सडकमा उत्रिएका जेनजी पुस्ताले नाराजुलुससहित माइतीघर मण्डलाबाट नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बसेर धर्ना दिने भएका छन् । जेनजी पुस्ता नेपालको राष्ट्रिय झण्डासहित भेला भइरहेका छन् ।
सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । जेनजी पुस्ताले आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।
जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् । आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।
जेनजीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लंघन हुने पनि उनीहरूले चेतावनी दिएका छन् ।
पुरानो पुस्ताका कतिपयले जेन–जीलाई सामाजिक सञ्जालमा मात्रै कराउने, देशप्रति चिन्ता नभएको, कृत्रिमतामा रमाइरहेको भनेर हेप्ने गरेका छन् । यो पुस्ता देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, आविष्कारलगायत क्षेत्रका सवालमा कति संवेदनशील छ भन्ने एउटा सन्देश हुन सक्छ सोमबारको प्रदर्शन ।














प्रतिक्रिया