जेनजीको आन्दोलनलाई बालेन, रवि लामिछानेदेखि कुलमान घिसिङसम्मको समर्थन


काठमाडौं । जेन–जी पुस्ताले सोमबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वसम्म विरोध प्रदर्शन गर्दैछ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित जेनजी पुस्ताले स्वतस्फुर्त प्रदर्शन गर्न लागेको हो ।
जेनजीको आन्दोलनलाई विभिन्न संघसंस्था, नेता तथा सेलिब्रेटीहरूले समर्थन गरेका छन् । एक हिसाबले भन्दा जेनजीको आन्दोलनलाई चौतर्फी समर्थन प्राप्त भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, कुलमान घिसिङदेखि कलाकार अनमोल केसीसम्मले समर्थन गरेका छन् । बालेनले जेनजी पुस्ताले देशभर गर्ने आन्दोलनमा आफ्नो भरपूर समर्थन रहेको बताएका छन् । उनले उमेरहदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेनजी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।

उज्यालो अभियान्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख घिसिङले पनि समर्थन जनाएका छन्। उनले फेसबुकमार्फत जेनजीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन् ।चलचित्र निर्देशक निस्चल बस्नेतले आफू जेन–जीको साथमा रहेको बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका छन् ।

अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिति झन् गम्भीर बनाएको भन्दै जेन–जी आन्दोलनलाई समर्थन जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् । गायक प्रकाश सपूत, अमृत गुरुङको नेपथ्या ब्याण्ड, गायिका रचना रिमाल, एलिना चौहान, गायक दुर्गेस थापालगायत थुप्रै सेलिब्रेटीले समस्थन गरेका छन् ।

नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन–जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन् । रास्वपाका सभापति रवि लामिछानेले भने कारागारबाटै ऐक्यवद्धता जनाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आन्दोलनमा समर्थन रहेको बताएका छन् ।

विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्न सुरु गरिसकेका छन् । उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन् । आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी भएका छन् ।