एमालेमा ओलीले अब जे चाह्यो त्यही हुने, झन् शक्तिशाली बने


काठमाडौं – केपी ओलीले फेरि पनि एमाले अध्यक्ष बन्न सक्ने गरी पार्टी विधान पारित गराएका छन् । आइतबार सकिएको एमालेको दोस्रो विधान महाधिवेशनले ७० वर्षे उमेरहद र कार्यकारी पदको कार्यकालको पूर्ववत् व्यवस्था हटाएपछि ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला भएको हो ।

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक्न ओलीले उनको सदस्यता नवीकरण नै रोकेका छन् । तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको महाधिवेशनले विधानमा रहेको ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्षे उमेरहदको सीमा र दुई कार्यकाल मात्र कार्यकारी पदमा उम्मेदवार बन्न पाउने दुवै व्यवस्था’ हटाएको छ । योसँगै यसै वर्ष हुने महाधिवेशनबाट तेस्रोपटक नेतृत्वमा आउन ओलीका लागि विधानले नै सुविधा दिएको छ । अब उनी झन् शक्तिशाली बनेका छन् । त्यसका लागि उनले प्रतिवेदन नै पारित गराएका छन् ।

तेस्रोपटक अध्यक्ष भए मात्र पनि ओलीले ७९ वर्षसम्म पार्टी नेतृत्व सम्हाल्नेछन् । जबकि एमालेभित्र एउटा पंक्ति नेतृत्व हस्तान्तरणको पक्षमा छ । पूर्वराष्ट्रपति भण्डारीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य कर्ण थापालगायत उल्लेख्य प्रतिनिधिहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रको मुद्दा उठाएर नेतृत्व हस्तान्तरणको मुद्दा मुखर बनाउन खोजेका थिए । उनीहरूले उठाएको पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरणमा रोक, उमेरहदलगायतका मुद्दामा पनि उल्लेख्य प्रतिनिधिहरूले साथ दिएपछि अध्यक्ष ओलीले महाधिवेशन हलमा पार्टीलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।

१० वटा समूहको नेतृत्व गरेका सबै टोलीनेताहरूले पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरण रोक्न नहुने पक्षमा हलमा आएका सुझाव प्रस्तुत गरेपछि अध्यक्ष ओलीले त्यसलाई अस्वीकारको सट्टा सर्वसम्मत प्रतिवेदन पारितका लागि मध्यमार्गी बाटो अपनाए । उनले विद्याको विषय पार्टीको एजेन्डा बनेको भन्दै हलमा आएका सुझावलाई ख्याल गरेर उनीसँग आफूले अलग्गै संवाद गर्ने र त्यस आधारमा केन्द्रीय सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक राखेर सदस्यतासम्बन्धी पूर्वनिर्णयमाथि छलफल चलाउने प्रतिबद्धता जनाए ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय नउठाउन निर्देशन दिए पनि महाधिवेशनमा उल्लेख्य प्रतिनिधि त्यही मुद्दामा उभिएपछि विद्या समूह उत्साहित बनेको छ । महाधिवेशन हलमा प्रतिनिधिहरूले प्रकट गरेको उल्लेख्य मतसँगै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यासँग पुनः अलग्गै संवाद गरेर पार्टीका बैठकबाटै सदस्यतासम्बन्धी मुद्दा हल गर्ने प्रतिबद्धता जनाएका छन् । यससँगै विद्या पक्षधर नेताहरू ओलीलाई शंकाको लाभ दिँदै संगठित रूपमा राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्ने योजनामा छन् । ११औं महाधिवेशनमा ओलीलाई एकल ढंगले उठ्न नदिने रणनीतिमा विद्या समूह छ । त्यसबेलासम्म आफ्नो सदस्यता नवीकरण भइसक्ने आशा उनलाई छ ।