आन्दोलन दबाउन खोजेको भन्दै जेनजी पुस्ताले माग्यो प्रधानमन्त्रीको राजीनामा


काठमाडौं – जेनजी पुस्ताले वर्तमान सरकारको वैधता पूर्णरूपमा समाप्त भएको बताएको छ । सोमबारको शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन भएको भन्दै जेनजी पुस्ताले विज्ञप्ति जारी गर्दै सरकारको वैधता समाप्त भएको निष्कर्ष निकालेको हो ।

‘आज भाद्र २३ गते देशभर लाखौं युवा सडकमा उत्रिएका छन्। तर शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्ने सट्टा प्रहरीले निर्मम दमन गरेको छ। दर्जनौं युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौं घाइते भएका छन् र तिनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रुग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

जेनजी पुस्ताले लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको ठहर गरेको छ । ‘त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन स्पष्ट आग्रह गर्दछौं। त्यसैगरी हामी सुरक्षा निकायहरूलाई पनि तत्काल दमनकारी गतिविधिबाट पछि हट्न, शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउन र जनताको अधिकारलाई सम्मान गर्न कडा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।