दमनको जिम्मा लिएर तत्काल पद छोड्न प्रधानमन्त्री ओलीलाई गगनको आग्रह


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार नागरिक आन्दोलनमा भएको दमनको जिम्मा लिएर अविलम्ब पद छोड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

जेनजी आन्दोलनमा अनाहकमा १९ युवा मारिएको घटनाले आफू रातभर निदाउन नसकेको भन्दै उनले कांग्रेस यो परिस्थितिको साक्षी र साझेदार हुन नहुने भन्दै पार्टी तत्काल सरकारबाट फिर्ता हुनुपर्ने उनको भनाइ छ । गगनले यसका लागि आफूले पार्टीको बैठकबाट निर्णय गराउन लाग्नेसमेत बताएका छन् ।

गगनले हिजोको घटनामा आफू जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न नसकेको भन्दै अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको बताएका छन् । घटनामा नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले सोमबार साँझ नै पदबाट राजीनामा दिइसकेका छन् । तर प्रधानमन्त्री ओलीले भने पपद छोड्न अस्वीकार गर्दै आएका छन् । बरु काठमाडौंका तीनवटै जिल्लामा कफर्यु आदेश गरेर नागरिकको मुख बन्द गर्न खोजेका छन् ।

‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,’ गगनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।