काठमाडौं । कृषि मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्री अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका हुन् । गृहमन्त्री रमेश लेखकले सोमबारै पदबाट राजीनामा दिएका थिए ।
अधिकारीले जेनजी आन्दोलनमा अनाहकमा युवा मारिएको विषयले आफूलाई मन्त्री पदमा बस्न नैतिकताले नदिएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
‘हिजोभाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु,’ उनले राजीनामामा लेखेका छन् ।
देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्योर ? यसको जवाफ नखोजी सत्तामा बस्नु आफ्ना लागि सैह्य नभएको उनको भनाइ छ ।
‘ससाना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु,’ उनले लेखेका छन् ।
पटक पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्ने उनको भनाइ छ । लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने उनले प्रस्ट पारेका छन् ।














प्रतिक्रिया