आज साँझसम्म निषेधाज्ञा रहने, बिहीार बिहानसम्म कर्फ्यु


काठमाडौं – नेपाली सेनाले बुधबार देशभर अपराह्न ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कफर्यु कायम रहने जनाएको छ । सेनाले बुधबार बिहान विज्ञप्ति जारी गर्दै अझै केही समूह व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न रहेको भन्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि अनुरोध गरेको छ ।

सेनाले विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याइरहेको सहयोगका लागि सेनाले धन्यवाद ज्ञापन गर्दै आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

‘आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागू गरिएको निषेधाज्ञा आज मिति २०८२ भदौ २५ गते बेलुकी ५ बजेसम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहनेछ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

अहिले देशभरका सडकमा सेना परिचालन भएको छ । आवश्यक कामबाहेक अरु कामका लागि हिँड्नेलाई सेनाले रोक लगाएको छ । जेनजी आन्दोलनका नाममा मंगलबार व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा लगाएको आगो बुधबारसम्म पनि निभेको छैन ।