प्रहरीले भन्यो, संसद् भवनभित्र ३२ जनाको शव फेला परेको समाचार झुटो हो


काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जनाको शव फेला परेको भन्ने समाचारलाई भ्रामक भन्दै खण्डन गरेको छ । बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रहरीले ‘बेपत्ता भएका ३२ जना मृत भेटिएका’ भन्ने सूचना निराधार भएको स्पष्ट पारेको हो ।

प्रहरीले यस प्रकारका गलत जानकारीले जनमानसमा डर र त्रास फैलिने भएकाले यस्ता अफवाह फैलाउन वा विश्वास नगर्न अनुरोध गरेको छ । सामाजिक सञ्जालहरूमा संसद् भवनभित्र ३२ जनाको शव फेला परेको भन्दै सामग्रीहरु सार्वजनिक भएपछि प्रहरीले यस्तो सूचना जारी गरेको हो ।

मंगलबार सामाजिक सञ्जालमा सोमबार जेनजी आन्दोलनका क्रममा ३२ जनालाई बेपत्ता पारेर संसद् भित्र बन्दी बनाइएको र आगजनी हुँदा सबैजना एकै ठाउँमा शव फेला परेको भनेर हल्ला फैलाइएपछि प्रहरीले त्यस्तो भ्रामक सूचना नफैल्याउन चेतावनी दिएको छ ।