काठमाडौं – सोमबार र मंगलबारको जेनजी आन्दोलनले सत्ता नै ढालेपछि अहिले नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको छ । तर सबै दल र समूहका आआफ्नै जेनजी अभियान भएकाले कोसँग वार्ता गर्ने भन्नेमा राष्ट्रपति कार्यालय र नेपाली सेनाको जंगी अड्डा अलमलमा परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार राति नै संवादमा आउन आन्दोलनरत जेनजीलाई आह्वान गरेका छन् । तर सबै दलका आआफ्नै समूह भएपछि कसरी जाने, कसले लिड गर्ने भन्ने अन्योल नै देखिएको छ ।
झिएअनुसार अहिलेसम्म एक दर्जनभन्दा बढी जेनजी समूह सक्रिय छन् । जसमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन, रास्वपा, माओवादी, राप्रपा, राप्रपामा पनि ज्ञानेन्द्र शाही र धवलशमशेर राणा पक्ष, कुलमान घिसिङ, सुशीला कार्कीनिकट जेनजी समूह छन् । यही कारण २४ घन्टा बितिसक्दा पनि नयाँ सरकार गठनका लागि कुनै संवाद भइरहेको छैन ।
जेनजीले आन्दोलन गरे पनि त्यसको फाइदा उठाउने काममा रास्वपा केन्द्रीय सदस्य गणेश कार्की लागेका छन् । रास्वपा नेता भए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन निकट भएकाले पनि कार्कीले आफूलाई जेनजीको प्रवक्ता ठान्दै आएका छन् । त्यहीअनुसार उनले सामाजिक सञ्जालमा उनले वकालत पनि गरिरहेका छन् । उमेर ४० कटे पनि कार्की आफैं जेनजीको आन्दोलनमा सरिक भएका थिए । उनी मात्र होइन, रास्वपाका सबै नेताको जेनजी आन्दोलनमा घुसपैठ देखिएको अनुमान गरिएको छ । अहिले कार्कीले १० जना जेनजी अगुवाहरूको नाम राष्ट्रपति कार्यालयलाई दिएका छन् । राष्ट्रपति कार्यालयले वार्ताका लागि आह्वान गरेपछि कार्कीले मध्यस्थता गर्न खोजेका हुन् ।
अहिले जेनजीका अनेकन् समूहहरू भएको र सरकारविहिनताको स्थिति रहेकाले कसले कोसित वार्ता गर्ने भन्ने अन्योल छ । जेनजीहरुले कुनै वार्ता कमिटी पनि बनाउन सकेका छैनन् । को अघि सर्ने भन्नेमै अस्पष्टता देखिएको छ । यस्तोमा केही जेनजीहरुले रास्वपा नेता कार्कीलाई राष्ट्रपति कार्यालयमा नाम पुर्याइदिन आग्रह गरेका थिए ।
‘कुन जेनजी समूह आधिकारिक भन्ने प्रश्न गलत छ । आधिकारिकताको प्रमाणपत्र कसैले दिनै सक्दैन । आधिकारिकतालाई गञ्जागोल हुन नदिने सहि उपाय हो, उनीहरूलाई राष्ट्रपतिसँग संवाद स्थापना गर्ने च्यानल बनाइदिने र जेनजीहरूको मुद्दा जेनजीहरूकै अगुवाइमा निश्चित गर्ने । यो यो मुद्दा हुन्, यो यो गर्ने काम हो भन्ने टुंगोमा पुगे पछि जसले जसरी संवाद गरे पनि हुन्छ । नत्र असरल्ल हुन्छ,’ उनले भने ।
अहिलेसम्म युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्ष बम, रिजन रानामगर, अनुषा खनाल, निरज गौतम, सुश्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरीलगायत रास्वपा निकट जेनजी अगुवाको नाम राष्ट्रपति कार्यालय पठाइएको छ । जेनजी भनेर अहिले राप्रपा, माओवादीलगायतका पनि दर्जनौं समूह छन् । सबैले आ–आफ्ना माग अघि सारेका छन् । सोमबारको जेनजी आन्दोलन सबल गौतम, पशुपति यादव, आदित्य मिश्र, मिराज ढुंगाना, सुदन गुरुङलगायतको बलमा उठेको हो । तर अहिले जेनजी आन्दोलनलाई रास्वपाले हाइज्याक गर्ने कोसिस गरिरहेको छ ।














प्रतिक्रिया