संवैधानिक दायरामा बसरे निकास निकाल्ने गरी प्रयास भइरहेको छ : राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा बसरे अहिलेको समस्याको समाधान निकाल्ने बताएका छन् ।
जेनजी आन्दोलनपछि तीन दिनसम्म मौन रहेका राष्ट्रपति पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि छलफल र परामर्श भइरहेको बताएका छन् ।

पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ विचार विमर्श एवं हरप्रयास गरिरहेको जानकारी गराएका छन् । आन्दोलनकारीको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न सबै पक्षलाई उनले आग्रह गरेका छन् ।

‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई ‌संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु।

आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु,’ पौडेलले भनेका छन् ।

राष्ट्रपति पौडेललाई बाइपास गरी नेपाली सेनाले नयाँ सरकार गठन गर्न वार्ता र संवाद चलाएपछि नागरिकस्तरमा व्यापक विरोध भइरहेको छ । राष्ट्रपतिलाई सार्वजनिक गर्न मागसहित नेविसंघले प्रदर्शन नै गरेको छ । राष्ट्रपति पौडेल कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन ।