जेनजीमै विभाजन भएपछि नयाँ सरकार गठनबारे अलमल


काठमाडौं – अन्तरिम सरकारको प्रमुख चयनका लागि शुक्रबार निर्णायक वार्ता हुने भएको छ । आज बिहान ९ बजेका लागि तय गरिएको बहुपक्षीय छलफल केही घण्टाका लागि पर सारिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनरत पक्ष आ–आफ्नो आन्तरिक तयारी र परामर्श आवश्यक ठानेपछि छलफलको समय पछि सारिएको हो ।

राष्ट्रपति पौडेलले बिहीबार मध्यराति अबेरसम्म पनि राजनीतिक दलका नेताहरू, नागरिक आन्दोलनका प्रतिनिधिहरू र संवैधानिक विज्ञहरूसँग लगातार परामर्श गरिरहेका थिए ।

बिहीबार राति राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रधानसेनापति अशोकराज सिग्देलसहितको वार्तामा संसद विघटनमा कुरा मिलेन । शुक्रबार बिहान ९ बजे बस्नेगरी छुटिएका थिए ।

छलफलपछि अधिवक्ता ओमप्रकाश अर्यालले मुख्य विषयमै कुरो नमिलेको बताए । ‘जेनजीको मुख्य माग संसद् विघटन हो । यो नभइ गैरसांसदको सरकार बन्ने कुरा हुँदैन । यसमा कुरो मिलेको छैन । पात्र को हुने भन्ने ठूलो विषय होइन । पात्रमा समस्या होइन । मुख्य कुरो संसद विघटन र गैरसांसद व्यक्तिको नेतृत्वमा अन्तरिम सरकारको कुरा हो,’ उनले भने ।

यता, जेनजी समूहबीच विभाजन भएको छ । कुन समूह आधिकारिक भन्ने विवाद छ । शुक्रबार रिपोर्टर्स क्लबमा भएको जेनजीको पत्रकार सम्मेलनमा दुई पक्षबीच विवाद भएको छ । नागरिक सरकार कार्कीको अध्यक्षतामा बने पनि क कसलाई मन्त्री बनाउने भन्ने विषय महाभारत बनेको छ ।