भागेका कैदीबन्दीलाई तुरुन्तै आत्मसमर्पण गर्न नख्खु कारागारको निर्देशन, के गर्लान् रवि ?


काठमाडौं – ललितपुरको नख्खु कारागार प्रशासनले भदौ २४ गते जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न अपिल गरेको छ । प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मसमर्पण नगर्नेलाई थप कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ । सम्पर्कमा आउनेलाई पुनःस्थापना प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘भदौ २४ गते नख्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न हार्दिक अनुरोध गर्दछौँ,’ अपिलमा भनिएो छ ।

कारागार प्रशासनले फरार अवस्थामा रहिरहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराएको छ।

‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई औपचारिक रूपमा अपिल गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले सम्पर्कमा नआउने बन्दीलाई कारागार ऐन, २०१९ र अन्य प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने व्यहोरा पनि अवगत गराएको छ।

भदौ २४ गते पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सञ्जय साह टक्लासहित १२ सयभन्दा बढी कैदीबन्दी फरार भएका थिए । रास्वपाका नेताहरूले रविलाई निकालेपछि बाँकी कैदीबन्दी पनि कारागारमा आगो लगाएर भागेका थिए ।

रविले भने कारागार प्रशासनले नै थुनामुक्त गर्न पत्र दिएकाले निस्किएको दाबी गर्दै आएका छन् । जेनजी आन्दोलनकारीले रविलाई आफूहरूले नभई रास्वपाका नेताहरूले जबर्जस्ती निकालेको भन्दै कारागार फर्किन चेतावनी दिएका छन् । रविको सिको गर्दै देशका १७ कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए ।