प्रधानमन्त्री कार्कीले आज पदभार सम्हाल्दै, मन्त्री छान्नै सकस


काठमाडौं । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको आइतबार तेस्रो दिन हो । शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरेकी प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा कार्यभार सम्हाल्दै छिन् । आजै केही मन्त्री नियुक्तिको तयारी चलिरहेको छ । सरकार निर्माणमा सहजकर्ताको भूमिकामा रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार अहिले समग्र परिस्थितिको मूल्यांकनको चरणमा रहेको बताए ।

‘सरकार आन्दोलनबाट भएको क्षतिमै केन्द्रित छ । कार्यालय सञ्चालनको अवस्था, पीडितको अवस्था के छ, निर्वाचनको विषयवस्तु छ, शान्ति सुव्यवस्था, कर्मचारी र सुरक्षाकर्मीको मनोबल, जनताको अपेक्षा हेरिरहेको छ । जनविद्रोह भएको छ, यसको असर, प्रवाहलाई कानुनी र राजनीतिको सन्तुलनमा रहेर हेर्नुपर्नेछ । मूल्यांकन हुँदैछ,’ उनले भने । प्रधानमन्त्री कार्की विज्ञसहितलाई समेटेर बढीमा १४ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा छिन् ।

जसका लागि उनले पाँचजना विज्ञलाई मन्त्री बनाउन चाहेकी छन् । तर, कार्कीको नजरमा परेका कतिपय अनुहार जेनजी समूहबाट समेत प्रस्तावित भएको र कतिपय विज्ञ मन्त्री बन्न नै अनिच्छुक देखिएका कारण विस्तारमा ढिलाइ भएको छ । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङदेखि सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईसम्मले सरकारमा सहभागी हुन गरिएका प्रस्ताव अस्वीकार गरेका छन् ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूले गृहसहित कम्तीमा दुईजना मन्त्री पाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेको नाम अघि सारेपछि सरकारमा सहभागी हुनेको नाम छनोट अन्योलमा फसेको छ ।

वर्तमान सरकारमा अघोषित रूपमा रास्वपाका प्रतिनिधिसमेत सहभागी गराइन लागेका कारण पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको बुझिएको छ । जेनजीका विभिन्न समूहले प्रधानमन्त्रीले छनोट गर्ने पाँचजना विज्ञ मन्त्रीबाहेकमा कस्ता व्यक्तिलाई पठाउने भनेर विभिन्न सञ्जालमार्फत आन्तरिक मतदान गरिरहेका कारण पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ ।