काठमाडौं – नेतृत्वले कहिल्यै गल्ती नस्वीकारेको भन्दै पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले रास्वपा छाडेकी छन् । उनले ६ महिनाअघि नै रास्वपा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने, तर कहिल्यै गल्ती स्वीकार नगरेको भन्दै आफूलाई यो स्वीकार्य नभएकाले पार्टी छाडेको जानकारी गराएकी छन् ।
‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडे,’ उनले भनेकी छन् । पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको आरोप छ ।
‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने ?’ उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।
सुमना हालै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका बेला शपथ समारोहमा पुगेकी थिइन् । कार्कीले सुमनालाई अंगालो हालेपछि उनी अब नयाँ सरकारमा मन्त्री बन्ने चर्चा चलेको थियो ।














प्रतिक्रिया