काठमाडौं – दुई दिने जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सत्ता ढालिदियो । आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । तर प्रधानमन्त्री नियुक्त भएको चार दिनमै कार्कीको राजीनामा माग गरिएको छ ।
‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङले प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् । शुक्रबार राति शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा अंकमाल र साष्टांग दण्डवत गरेका सुदनले प्रधानमन्त्रीले पद बहाली गरेकै राति राजीनामा माग गर्नुलाई सामान्य मानिएको छैन । कार्कीले आइतबार मात्र प्रधानमन्त्रीको पदबहाली गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले आइतबार साँझ तीनजना मन्त्री नियुक्ति प्रक्रिया अघि बढाएको खबर बाहिरिएपछि सुदनहरुको समूहले प्रधानमन्त्रीको सरकारी निवास ३ नम्बर गेट बाहिर जम्मा भएर राति मुर्दावादको नारा लगाएको थियो । उनीहरुले आफूले भनेबमोजिम नगर्नेलाई भित्रबाट बाहिर ल्याएर घिसार्नेसम्मको चेतावनी दिए ।
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरेका छन् । ‘हामी नेपाल’ समूह मन्त्रीहरुको नियुक्ति आफूहरुसँगको सल्लाहबाट मात्रै गरिनुपर्ने मागमा अडिग देखिन्छ ।
नाराबाजीमा सामेल ‘हामी नेपाल’ का केहीले आफूहरुको आन्दोलन हाइज्याक भएको बताएका छन् । भदौ २३ गते आन्दोलनको क्रममा आफूहरु स्वयंसेवक मात्रै रहेको बताएका गुरुङले क्रमशः जेन जी समूहको आन्दोलनलाई आफू र आफ्नो संस्थाले स्वामित्व लिनेगरी घटनाक्रमलाई अघि बढाउँदै आएका छन्। आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सुदन गुरुङमाथि हातपात भएको थियो । चार दिनमै प्रधानमन्त्रीको राजीनामा माग्नुले फेरि पनि सडकमा मुठभेड निम्तिने चिन्ता थपिएको छ ।














प्रतिक्रिया