प्रस्तवित अर्थमन्त्री खनालले सरकारी सेवासुविधा नलिने, अरुले पनि गर्लान् अनुशरण ?


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अर्थविद् एवं पूर्वसचिव रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त अर्थमन्त्री खनालले सोमबार बिहान साढे ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् । उनले आजै अर्थ मन्त्रालयमा पदभार सम्हाल्ने छन् ।

अर्थमन्त्री खनालले सरकारबाट कुनै सुविधा नलिने भएका छन् । अर्थमन्त्री रहँदासम्म उनले सरकारबाट प्राप्त हुने तलब, मन्त्री क्वार्टर, गाडीलगायतका कुनै पनि सुविधा नलिने प्रतिबद्धता जनाएका छन् । खनालले सुरुमै नागरिक सरकारको झल्को त दिएका छन् । तर जेनजी आन्दोलनमा खरानी बनेको अर्थतन्त्र कसरी माथि उठाउलान् भन्ने हेर्न बाँकी नै छ ।

खनालले जस्तै कार्की मन्त्रिपरिषदमा नियुक्त हुने मन्त्रीहरूले पनि यस्तै घोषणा गर्नुपर्ने धेरैको माग छ । आमजेनजीले नवनियुक्त मन्त्रीहरुले ६ महिनासम्म यस्तो निर्णय गरेमा यस्तो प्रचलन पछिसम्म चल्ने निश्चित छ ।

अहिलेको सरकारको मुख्य दायित्व ६ महिनाभित्र घोषित आमनिर्वाचन गर्ने हो । तर ध्वस्त बनेको अर्थतन्त्रलाई पनि शून्यताबाट माथि उठाउने चुनौती पनि सँगै छ । किनभने अहिले सरकारी कार्यालय शून्यताको अवस्थामा छन् । स्थानीय, प्रदेश र संघका गरी सरकारी संरचना झन्डै ७५ प्रतिशत जलाइएका छन् ।

सरकारी संरचना मात्र होइन, निजी क्षेत्रमा पनि ठूलो क्षति भएको छ । होटेल क्षेत्रमा मात्रै करिब ३० अर्ब बराबरको क्षति भएको छ । यसले पर्यटन क्षेत्रलाई शून्यतामा लैजाने सम्भावना त्यत्तिकै छ । मुख्य पर्यटन सिजनमै धमाधम होटल बुकिङ रद्द गर्न थालिएको छ । विदेशी पर्यटकले नेपाल भ्रमण रद्द गरेका छन् ।

नेपाल प्रहरीको सबै भौतिक संरचना सखाप भएको छ । प्रहरी सडकमा उत्रिएर शान्ति सुरक्षा दिन सक्ने अवस्था छैन । सबैभन्दा ठूलो नागरिकको मन भत्किएको छ । यस्तो अवस्थामा अर्थमन्त्री खनाललाई सम्हालिएर अगाडि बढ्न निकै ठूलो चुनौती छ । यद्यपि उनी प्रमुख दलसँग राम्रो सम्बन्ध भएका अर्थशास्त्री हुन् । कांग्रेस, एमाले, माओवादी नेतासँग उनले काम गरिसकेका छन् । उनी आफैं पनि कुशल अर्थशास्त्री हुन् । करको दरका सम्बन्धमा तत्कालीन अर्थमन्त्रीसँग कुरा नमिलेपछि उनले अर्थ सचिवबाटै राजीनामा दिएका थिए । त्यसपछि उनले राज्यले दिएका विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हालेका छन् । त्यसैले उनीमाथि आमजनताले भरोसा गरेका छन् ।