काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए।
मन्त्रिपरिषद् विस्तारसँगै अर्याललाई गृहका अतिरिक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
खनाल पूर्वअर्थसचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् भने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आएका छन् ।
अधिवक्ता अर्याल अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि चर्चामा आएका थिए । नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्ने भएका छन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबाहेक अन्य राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति आजको समारोहमा देखिएन।














प्रतिक्रिया