खण्डहर बनेको पार्टी कार्यालयबाट पुनर्निर्माण थाल्न शंकर पोखरेलको अपिल


काठमाडौं – एमालेका महासचिव शंकर पोखरेलले देशैभरि क्षतिग्रस्त भएका पार्टी कार्यलयहरुको पुनर्निर्माण सुरु गर्न अपिल गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको सोमबार निरीक्षणपछि उनले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।

पोखरेलले एमाले असोज ३ गते खरानीको थुप्रोबाटै संविधानस दिवस मनाउन पनि सबैलाई निर्देशन दिएका छन् । ‘लामो संघर्षबाट २०७२ सालमा प्राप्त भएको संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौं । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ,’ उनले भने ।

पोखरेलले सधैं सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त गरेका उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने बताए । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने पोखरेलले बताए । यो सरकार अन्तरिम भएकाले यसको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमै निर्वाचन गराउनेमा ध्यान जानेमा आफू विश्वश्त रहेको उनको भनाइ छ ।

‘‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरु जनतामा गएर, जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौं,’ पोखरेलले भने । जेनजी आन्दोलनको एक सातापछि एमाले नेताहरू खण्डहर बनेको पार्टी कार्यालय निरीक्षण गर्न गएका हुन् ।