काठमाडौं – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइटले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री नबन्ने र राजनीतिमा प्रवेशको सम्भावना पूर्णरूपमा खारेज भएको बताएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै रुइटले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीहरूबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाउने विश्वास व्यक्त गरे। उनले आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लीन रहने स्पष्ट पारे। रुइटले आफू जहाँ छु खुसी छु भन्दै काममै लागिरहने प्रण गरेका छन् ।
‘मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ,’ उनले भनेका छन्, ‘तर म स्पष्ट छु । मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो। नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो। मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् ।’
डा. रुइटले सबै नागरिकले आफ्नो–आफ्नो पेशा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने विश्वास व्यक्त गरे।
‘हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन। म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु । अबको समय भनेको सबै जुटेर देश बनाउने हो,’ उनले भनेका छन् ।














प्रतिक्रिया