काठमाडौं – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हालेपछि खनालले भ्रष्टाचार अन्त्यका लागि यो सरकार बनेको बताउँदै अब सबैले नजानेर पनि भ्रष्टाचार नगर्न निर्देशन दिए । उनले अब सबैले सच्चिनुपर्ने धारणा राखे ।
मन्त्री खनालले करदाताको रकम खर्च गर्ने मामिलामा सुध्रिन निर्देशन दिए । ‘कसैको नाम लिएर यस्तो भयो भनेर गुनासो आयो भने तुरुन्तै कारवाही गरिन्छ,’ उनले भने ।
यसअघिको बजेटमै रहेर काम गर्ने र पूरक बजेटको विषयमा सोच्न सकिने अवस्था नरहेको अवस्था उनले सुनाए । जानै नपर्ने ठाउँमा गएको बजेट निकाल्ने काम पनि गर्ने उनको भनाइ छ । उनले अर्थ मन्त्रालयमा तत्काल नयाँ सवारी साधन नकिन्ने र पुरानैले काम काम चलाउनुपर्ने धारणा राखे ।
मन्त्री खनालले फागुनमा घोषित आमनिर्वाचनका लागि बजेटको व्यवस्था गर्ने जानकारी दिए । आमनिर्वाचनमा कम्तीमा पनि २० अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ ।
अर्थमन्त्री खनालले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्नेसमेत उल्लेख गरे।
‘अब निर्वाचन गर्नुपर्नेछ, युवाका माग पूरा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नुपरेको हो’, उनले भने । खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताए । आयोगको अध्यक्ष खनाल आफैं थिए ।














प्रतिक्रिया