काठमाडौं – एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओली अहिले पनि सेनाको सुरक्षा घेरामा छन् । गत मंगलबार जेनजी आन्दोलनले सहरी विद्रोहको रूप लिएपछि सेनाले ओलीलाई बालुवाटारबाटै हेलिकोप्टरमार्फत रेस्क्यु गरेर शिवपुरीस्थित सैनिक ब्यारेक लगेको थियो । सेनाको सुरक्षामा रहनेमा ओली मात्र एक राजनीति नेता हुन् ।
सेनाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सोमबार सुरक्षा घेराबाट बाहिर निकालेको थियो । नेता झलनाथ खनाल आइतबार नै घर फर्केका थिए । पूर्वमन्त्रीहरू भने चार दिनअघि नै घर आएका थिए ।
यदि जेनजी आन्दोलनले सत्ता नढलेको भए केपी ओलीले आज भारत भ्रमण गर्ने कार्यतालिका थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भदौ ३१ गते भ्रमणको निम्तो दिएका थिए । दुवैबीच आज भारतको बोधगयामा भेट हुँदै थियो । तर हुने हार दैव नटार भने जस्तो ४८ घन्टाको विद्रोहले ओलीको सत्ता मात्र ढालेन, उनको राजनीतिक भविष्यमै ग्रहण लगाइदिएको छ ।
ओली र मोदीबीच १५ दिनअघि मात्र चीनको तियानजिनमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री भएको एक वर्षसम्म पनि भारतले ओलीलाई भ्रमणको निम्तो दिएको थिएन । तर जब भ्रमण हुने दिन नजिकिँदै गएको थियो, जेनजी आन्दोलनले नै उनलाई प्रधानमन्त्रीको कुर्सीबाट बर्खास्त गरिदियो । भारत भ्रमण नगरी पद खुस्किनेमा झलनाथपछि ओली पनि थपिएका छन् ।
यदि भदौ २३ गते १९ जना मारिँदा ओलीले पदबाट राजीनामा दिएको भए आज यो स्थिति देख्नुपर्ने थिएन ।














प्रतिक्रिया