काठमाडौं – सञ्चारकर्मी हरिशरण लामिछानेले भदौ २४ गतेका दिन आफूले रेडियो नेपाल कब्जा गरेको स्वीकारेका छन् । भाइ रवि लामिछानेलाई रास्वपाले ‘जेल ब्रेक’ गरेर बाहिर ल्याएपछि हरिशरणले २० मिनेटसम्म रेडियो नेपाल कब्जा गरेर जेनजी आन्दोलन उक्साएको खुलेको थियो ।
आफूमाथि लागेको आरोप स्वीकार्दै उनले प्रेस स्वतन्त्रताका लागि यस्तो काम गर्नुपरेको बताएका छन् । उनले उत्तेजनामा आएर सार्वजनिक सम्पत्ति विनाश नगर्न रेडियो नेपाल कब्जा गरी सूचना सम्प्रेषण गरेको दाबी पनि गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि रेडियो नेपालले गीत सुनाएर बसेको र आफूले यस्तो नगर्न आग्रह गर्दा कोही अघि नसरेपछि कब्जा गरेर सूचना सम्प्रेषण गरेको बताएका छन् ।
‘रोम जलिरहँदा निरो बाँसुरी बजाउँदै थियो भनेझै, सिंहदरबार जलिरहँदा गीत सुनाएर बसेको रेडियोका साथीहरुलाई निरीह नबन्न आग्रह गर्दा पनि कोही अघि नसरेपछि मैले जनतालाई उत्तेजनामा आएर सार्वजनिक सम्पत्तिको विनाश नगर्न आग्रह गर्दै रेडियो नेपाल कब्जा गरेकै हो, जसरी ०७२ को भूकम्पमा गरेको थिएँ,’ लामिछानेले भनेका छन् ।
आफ्नो कर्तव्य बिर्सेर तमासे बनिरहेका गैरजिम्मेवार कारिन्दाको अकर्मण्यतालाई विषयान्तर गर्न, कल्पनिक कथा बुनेर आफ्नो भूमिकालाइ दूषित बनाउने कुचेस्टा गर्ने कुनै अमूक कार्यकर्ताको दरिद्र मानसिकता देखेर दया लागेको उनले बताएका छन् ।
‘मैले के भने र त्यो दिन के के गरें भन्ने कुरा सामाजिक सन्जालमा छरपस्ट छ। जीवनभर निष्ठापूर्वक प्रेस स्वतन्त्रताका लागि समर्पित पात्रमाथि दोष थोपर्नु, कायरहरुको पराजित मनस्थित हो भन्नुको विकल्प छैन,’ उनले भनेका छन् ।
लामिछाने रेडियो नेपालका अवकाश प्राप्त कर्मचारी हुन् । अवकाश प्राप्त कर्मचारी भए पनि आफ्नो भाइ रवि लामिछाने कारागारबाट निस्केपछि हौसिएर उनले आन्दोलनकारी उचालेको आरोप लागेको छ ।














प्रतिक्रिया