काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की वरिष्ठ आँखा विशेषज्ञ डा.सन्दुक रुइटलाई भेट्न तिलगंगा अस्पताल पुगेकी छन् । मंगलबार दिउँसो तिलगंगा पुगेकी कार्की र रुइटबीच केहीबेर कुराकानी भएको थियो ।
स्रोतका अनुसार कार्कीले आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिदिन रुइटलाई आग्रह गरेकी थिइन् । अन्तरिम सरकारमा बढीभन्दा बढी विज्ञको सहभागिताको आवश्यकता पर्ने भएकाले मन्त्री बनिदिन उनले प्रस्ताव गरेकी थिइन् । तर डा.रुइटले आफू विरामीकै उपचारमा खुसी भएको जवाफ दिएका थिए ।
अस्पताल परिसरमा उपस्थित पत्रकारलाई पनि डा.रुइटले त्यस्तै प्रकारको उत्तर दिएका थिए । ‘तपाई क्याबिनेट मन्त्री बन्न लाग्नु भएको हो ?’ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा रुइटले भने, ‘यत्रो विरामी छोडेर मन्त्री खान जाने ? हुँदैन । यहीँ ठीक छ ।
रुइटले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै आफू विरामीको उपचारमा रमाएको र यहीँ खुसी भएको भन्दै मन्त्री बन्ने र राजनीतिमा प्रवेशको हल्लालाई ‘च्याप्टर क्लोज’ गरेका थिए । तर मंगलबार प्रधानमन्त्री कार्की नै आफूलाई भेट्न आएर मन्त्रीको प्रस्ताव गरेपछि रुइटलाई संकट आइपरेको छ ।
प्रधानमन्त्री कार्कीले अहिलेसम्म तीनजना मन्त्री नियुक्त गरेकी छन् । अझै १५ वटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेकी छन् ।














प्रतिक्रिया