नेतृत्व नछाड्ने प्रचण्डको संकेत, पार्टी कार्यालय पुगेर उठाए खरानी


काठमाडौं – माओवादी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्ड एक सातापछि जेनजी आन्दोलनमा ध्वस्त भएको पार्टी कार्यालय पुगेर निरीक्षण गरेका छन् । सोमबार सेनाको शिवपुरी ब्यारेकबाट फर्किएका प्रचण्ड मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेर खरानी उठाउन थालेका हुन् ।

पार्टी कार्यालयमा उपस्थित भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले खरानीमा टेकेर पार्टी कार्यालय नयाँ बनाउने उद्घोष गरे । भदौ २४ को जेनजी आन्दोलनमा कांग्रेस, एमालेसहित माओवादीको पार्टी कार्यालय पनि तोडफोड र आगजनी गरिएको थियो । तीनवटै पार्टी कार्यालय कामै नलाग्ने अवस्थामा पुगेका छन् । कांग्रेस र एमालेभन्दा माओवादी कार्यालयमा कम क्षति भएको छ ।

सोमबार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ध्वस्त पार्टी कार्यालय पुगेर अनुगमन र निरीक्षण गर्दै सरसफाइ गर्न निर्देशन दिएका थिए । तर मंगलबार पार्टी कार्यालय पुगेका प्रचण्ड आफैं सावेल बोकेर खरानी उठाउन लागेका थिए । उनलाई पार्टीका कार्यकर्ताले साथ दिएका थिए ।

जेनजी आन्दोलनले मुख्य तीन दलका अध्यक्षलाई अवकाश लिन म्यान्डेट दिए पनि प्रचण्डले भने नछाड्ने संकेत गरेका छन् । मंगलबार उनले पार्टी कार्यालयबाटै त्यसको संकेत गरेका हुन् । आन्दोलनकारीले प्रचण्डको खुमलटारस्थित घर जलाएर खरानी बनाएका छन् ।