काठमाडौं – जेनजी आन्दोलनका कारण सरकारले यस वर्ष दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ नखुलाउने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच भएको छलफलमा विषम परिस्थितिका कारण अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको हो ।
विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।उनले दशैंका लागि घर जानेहरूले तीन चार दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काट्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए ।
चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्ष घटस्थापनादेखि मात्र चाप बढ्ने गरेकामा यस वर्ष भने अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेका छन् ।
यातायात व्यवस्था विभागले चाडपर्वमा यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि तयारी गरेको जनाएको छ । मंगलबार विभागमा भएको छलफलमा महानिर्देशक पोखरेलले सडकमा अवरोध हुन नदिन सडक विभागसँग सहकार्यमा डोजरको व्यवस्था गरिने र यात्रु सहायता कक्ष तथा भाडादरका बोर्ड राखिने जानकारी दिए ।














प्रतिक्रिया