खण्डहर बनेका कांग्रेस, एमाले र माओवादीका मुख्यालय कहिले तयार होला ?


काठमाडौं – भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलन र त्यसपछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचनालगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।

देशमा बढेको बेथिति, भ्रष्टाचारले गर्दा राजनीतिक दल र नेताहरुप्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेनजी आन्दोलन ।
जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए।

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्णरुपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वारदेखि हरेक कोठामा आगजनी गरिएको थियो । कांग्रेसले मंगलबारबाट देशभरि भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको छ । केही दिनअघि कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सानेपा पुगेर निरीक्षण गरेका थिए । दुवैले खरानीबाट उभिएर पार्टी कार्यालय पुनर्निर्माण गर्ने बताएका थिए ।

जेनजी आन्दोलन एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांश संरचना खरानी भएका छन् ।

सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।

पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालय पनि जेनजी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांश संरचना जलेर नष्ट भएका छन् । तत्कालका लागि तीनवटै दलका कार्यालय सञ्चालनमा आउन सक्ने देखिएको छैन । एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड मात्र भएको छ । आगजनी गरिएको छैन । रास्वपा, राप्रपा, जसपा नेपाल, जसपा, लोसपालगायत साना दलका कार्यालय भने सुरक्षित छन् ।