बागमतीका सभामुख पाठकले दिए राजीनामा


काठमाडौं – जेनजी आन्दोलनको साइड इफेक्ट बागमती प्रदेश सभामा पनि परेको छ । आन्दोलनकै बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामाको घोषणा गरेका थिए । तर पछि उनले त्यसलाई सच्याए । अहिले आफ्नै पार्टी जनमतले समर्थन फिर्ता लिएपछि उनी संकटमा परेका छन् ।

यता बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । यसअघि २४ भदौमा जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत राजीनामा पत्र पठाएका हुन् ।

पाठकले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष राजीनामा बुझाएको बताएका छन् । उनले तत्कालीन समयमा प्राविधिक कारणले कानूनी प्रक्रिया पूरा गर्न असहज भएकाले औपचारिक पत्र पठाउन नसकेको स्पष्टीकरणसमेत दिएका थिए ।

राजीनामा पत्रमा पाठकले भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले आफूलाई अत्यन्त भावविह्वल बनाएको उल्लेख गरेका छन् । उनले राष्ट्र शोकमा डुबिरहेको बेला जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत सभामुख पदमा बसिरहनु उचित नलागेको कारण आफूले राजीनामा दिएको बताएका छन् ।

पाठकको राजीनामाको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई समेत पठाइएको छ । २८ पुस २०७९ मा एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा ६४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । यससँगै बागमती प्रदेश सभामा सभामुख पद रिक्त बनेको छ ।
जेनजी आन्दोलनकै बेला राप्रपाका प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यले सामूहिक राजीनामा दिएका थिए । त्यही भएर पाठक पनि सभामुख पदबाट राजीनामा दिएर बाहिरिएका छन् ।