संसद् भवन अवलोकन गर्न पुगे तीन मन्त्री


काठमाडौँ – अन्तरिम सरकारका तीनजना मन्त्रीहरुले जेनजी आन्दोलनका बेला आगजनी र तोडफोडपछि क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले बुधबार सामूहिक रुपमा उक्त भवनको अवलोकन गरेका हुन् । जेन–जीको अगुवाइमा भदौ २३ मा भएको आन्दोलन र त्यसपछि भदौ २४ मा भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद् भवन भग्नावशेषमा परिणत भएको छ ।

पहिलो दिन संसद् भवन परिसरमा प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि आन्दोलन भड्किएको थियो । त्यसबेला १९ जना मारिएका थिए । संसद् भवनको भित्री भाग जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ । चीन सरकारले बनाइदिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् भवन बनाइएको थियो ।