कांग्रेस र देशलाई सही नेतृत्व दिन सक्ने नेता गगन मात्रै हुन्


काठमाडौं – मुलुक अहिले निकै असहज परिस्थितिमा छ । पुराना दलका कार्यालय र नेताका घर खरानी बनाइएको छ । जेनजी आन्दोलनको नाममा घुसपैठियाहरूले प्रमुख दललाई उठ्नै नसक्ने भौतिक र मानिसक यातना दिएका छन् । यस्तो अवस्थामा कसरी सम्हालिएर अघि बढ्ने भन्ने नेतृत्व देशले खोजिरहेको छ ।

जेनजी आन्दोलनको एक सातासम्मको अवस्था हेर्दा यथार्थ र वस्तुपरक ढंगले कांग्रेस महामन्त्री गगन थापाबाहेक अरु कसैले पनि अहिलेको तरल अवस्थाको सही ढंगले मूल्यांकन गर्न सकेको देखिन्न । आज जे जे माग जेनजीका आन्दोलनका नाममा बाहिर आएका छन्, त्यसको प्रस्थानविन्दु २० वर्षअघि नै गगन थापाबाटै सुरु भएको हो ।

यिनै गगन हुन् जसले देशमा गणतन्त्र चाहिन्छ भन्दै राजतन्त्रविरुद्ध बिगुल फुकेका थिए । त्यसबेलाको सत्ताले गगन र प्रदीप पौडेललाई राजद्रोहको मुद्दासमेत लगाएका थियो । तर गगन डगमगाएनन् । अन्ततः उनको सामु तत्कालीन राज्यसत्ता झुक्यो । उनी जेलबाट बाहिर निस्के । र, आफ्नै दल कांग्रेसलाई पनि गणतन्त्रको लाइनमा लिएर अघि बढे । त्यसबेलाका शक्तिशाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि उनले कन्भिन्स गरे । र, पछि गएर राजतन्त्र सदाका लागि नेपालबाट विस्थापित भयो ।

हिजो जसरी देश र जनताको नारा लिएर गगन अघि बढेका थिए, आज त्यसभन्दा उनी कहीँ पनि यताउता भएका छैनन् । बरु अझ परिस्कृत भएका छन् । दुई दिने जेनजी आन्दोलनका बेला गगनले दिएका अभिव्यक्ति, उनका विचार तत्कालीन सत्ताले मानिदिएको भए अहिलेको अवस्था नै आउँदैनथ्यो । तर पनि सम्हालिएर अघि बढ्नुको विकल्प छैन । यो कुरालाई गगनले सही र वैज्ञानिक ढंगले विश्लेषण गरेको देखिन्छ । उनले सुझबुझपूर्ण अभिव्यक्ति र सन्देश दिइरहेका छन्, जसले जेनजी आन्दोलनबाट पार्टी र देशलाई ड्यामेज हुनबाट कन्ट्रोल गरेको छ ।

गगन केवल कांग्रेसका मात्र होइन, देशलाई नै सही नेतृत्व दिनसक्ने नेता हुन् । उनले संसद् भित्र र बाहिर दिएका अभिव्यक्ति र भाषणले त्यसलाई पुष्टि गर्दै आएको छ । संघर्षको नाम नै गगन भन्ने पुष्टि भइसकेको छ । हिजो गणतन्त्रको वकालत गर्दै पार्टीमा युवालाई स्थान दिनुपर्ने नारा गगनले अघि सारेका हुन् । भलै कांग्रेसमा धेरै वृद्ध नेताको बोलवाला देखिए पनि केन्द्रीय समितिमा विगतमा भन्दा १४औं महाधिवेशनमा युवाहरूको बाहुल्यता देखिएको छ । त्यसैले अहिले उनी कांग्रेसलाई पुनर्गठन गरी अघि बढेमा जेनजीको माग पनि पूरा हुने र पार्टीले पनि सही ट्रयाक लिने उनको बुझाई छ ।

गगनले दिएका विचार केवल कांग्रेसका लागि मात्र होइन, एमाले, माओवादी, रास्वपालगायत सबै दलले स्वीकार गर्दै आएका छन् । रास्वपामा धेरै युवा नेताको बोलवाला हुनुमा प्रत्यक्ष अप्रत्यक्ष गगनकै विचारको देन हो ।

बोलीमा ओज र विचारमा प्रस्टता गगनका सबैभन्दा ठूलो सम्पत्ति हो । आफ्ना विरोधीलाई विचारबाटै परास्त गर्नसक्ने खुबी भएका गगन युवाका सवालमा सधैं नम्र देखिन्छन्, सुनिन्छन् । त्यसैले पनि उनीप्रति धेरैको आशा र भरोसा देखिएको हो । उनका विरोधीले पनि गगनका विचार हत्तपत्त काट्ने सामथ्र्य राख्दैनन् । किनभने कुनै पनि विषय बोल्नु र लेख्नुअघि गगनले त्यसको सूक्ष्म र मिहीन ढंगले अध्ययन गरेका हु्न्छन् । जेनजी आन्दोलनका बेला झन्डै झन्डै नेतृत्वको भ्याकुम नै छ । पुराना नेताप्रति आजनताको भरोसा र विश्वास छैन । त्यसैले यस्तो बेला गगनले कांग्रेसको नेतृत्व लिएर अघि बढ्दा देशले पनि सही ट्रयाक लिने विश्वास गर्न सकिन्छ ।