सिके राउतले अध्यक्ष नछाडेपछि जनमतका ६ नेताले छाडे पार्टी


काठमाडौँ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जनाले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदूरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले बुधबार पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग डा. जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पूरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए ।

‘देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावनाअनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मालोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजीनामा पत्रलाई तपाईले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ’, राजीनामा पत्रमा भनिएको छ, ‘त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।’

अहिले पार्टी छाडेकाहरू जनमतका आधार भएका नेता हुन् । अब्दुल खान त पार्टीबाट मन्त्री नै भइसकेका छन् । सिके राउत आफूले नेतृत्व नछाड्ने, छाडे पनि आफ्नो दाजु जयकान्तलाई बागडोर दिने मनस्थितिमा रहेको बताइन्छ ।