काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार दिउँसो भएको कुराकानीका क्रममा जेनजी आन्दोलनपछि शान्ति र स्थिरता पुनःस्थापनाको विषयमा कुराकानी भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीसँग न्यानो कुराकानी भएको उल्लेख गरेका छन् । केही समयअघि मात्र उनले सामाजिक सञ्जालमा टेलिफोनमा भएको कुराकानीको विषयवस्तु सार्वजनिक गरेका छन् ।
मोदीले असोज ३ गते नेपालले संविधान दिवस मनाउन गइरहेकाले आफूले नेपाली जनतालाई शुभकामना दिएको उल्लेख गरेका छन् ।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें। साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरें,’ मोदीले लेखेका छन् ।
भारतले पहिलोपल्ट नेपाललाई संविधान दिवसको शुभकामना दिएको थियो । संविधान जारी भएको १० वर्षसम्म भारतले स्वागत गरेको थिएन ।














प्रतिक्रिया