काठमाडौं – अमेरिकाले नेपाललाई संविधान दिवसको शुभकामना दिएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संविधान दिवसको शुभकामना दिएका हुन् ।
‘अमेरिका नेपाली जनताका संविधानअनुसार कार्य गर्ने पारदर्शी सरकारप्रतिको आकांक्षालाई समर्थन गर्दछ, जुन आगामी महिनाहरूमा हुने निर्वाचनका तयारीमा लोकतान्त्रिक समाधान प्राप्त गर्न अपरिहार्य हुनेछ। अमेरिका हालैका प्रदर्शनहरूमा भएको जीवनको क्षतिप्रति शोकाकुल नेपाली जनताको साथमा छ र ती प्रदर्शनहरूमा मृत्युवरण गरेका र घाइते भएका व्यक्तिका परिवारहरूप्रति समवेदना व्यक्त गर्दछ,’ रुबियोले विज्ञप्तिमा भनेका छन् ।
अमेरिकाले नेपाली जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सुदृढ गर्ने, र सबैका लागि समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्य पाउन हकदार भएको पनि बताएको छ । ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्टले नेपालमा यातायात र ऊर्जा पूर्वाधारको विस्तार, रोजगारी सिर्जना, दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धनमा योगदान दिनेछ, साथै अमेरिका र नेपालबिचको साझेदारीलाई सुदृढ गर्दै अमेरिकी कम्पनीहरूका लागि व्यापारिक अवसरहरू पनि सिर्जना गर्नेछ।
यस विशेष दिनमा हामी नेपाली जनतालाई फेरि बधाई ज्ञापन गर्दछौँ र दक्षिण एसियामा स्थिरता प्रवर्द्धन गर्न तथा विश्वलाई अझ सुरक्षित बनाउन नेपालसँग नजिकको सहकार्यलाई निरन्तरता दिने अपेक्षा गर्दछौँ,’ विदेशमन्त्री रुबियोले भनेका छन् ।














प्रतिक्रिया