काठमाडौं – लामो समयदेखि प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फतै दर्शकमा उत्सुकता जगाइसकेको यस चलचित्रले ट्रेलरमार्फत अझ व्यापक चर्चा पाएको छ।
ट्रेलरको सुरुवात भावनात्मक दृश्यबाट हुन्छ—अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत भई छोरासँग देश र अस्मिता जोगाउने वचन माग्छिन्। “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्,” भन्ने उनको संवादले दर्शकलाई छुन्छ।
त्यसपछि नायक समीर भट्टको धमाकेदार प्रवेश हुन्छ। उनका तीव्र संवाद र शक्तिशाली एक्सनले ट्रेलरलाई उचाइमा पुर्याएको छ। “मेरो शरीरको एक–एक थोपा रगत माग दिन्छु। तर आमाबारे केही भनिस् भने काटिदिन्छु,” भन्ने संवादसँगै उनले प्रस्तुत गरेको एक्सन दृश्य दर्शकलाई रोमाञ्चित बनाउँछ।
ट्रेलरमा सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक शैलीमा देखिएका छन्। सौगात मल्लले आफू राक्षस बन्न बाध्य पारेको भाव व्यक्त गर्दा समीर र सौगातबीचको द्वन्द्व विशेष आकर्षण बनेको छ। दर्जनौँ खलनायकसँग एक्लै भिड्ने समीरका दृश्य, आकर्षक छायाङ्कन, संवाद र सशक्त ब्याकराउन्ड स्कोरले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ।
यसअघि सार्वजनिक टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको धारिलो संवाद र ऋचा शर्माको भावनात्मक प्रस्तुति चर्चामा रहको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रमा देखिनुले पनि टिजर रोचक बनेको थियो।
ट्रेलरसम्म आइपुग्दा ‘बलिदान’ लाई केवल चलचित्र नभई अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली सिनेमाका रूपमा हेरिएको छ। निर्देशक सेनले यसलाई “हरेक नेपालीको मनभित्रको विद्रोहको प्रतीक” को रूपमा परिभाषित गरेका छन्।
यसबीच, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ (स्वर–सङ्गीत: सुजन चापागाईँ, शब्द: हर्क साउद) सार्वजनिक भई लोकप्रिय भइसकेको छ।
‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
‘बलिदान’ यो वर्षको बडादसैँको फूलपाती (असोज १३ गते) मा प्रदर्शनमा आउँदैछ। नेपाली चलचित्र इतिहासमै यो साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया