काठमाडौं । जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्। तर प्रधानमन्त्री बनेको १० दिनसम्म कार्कीले मन्त्रिपरिषद् विस्तारमा ‘अस्वाभाविक’ ढिलाइ गरिरहेकी छन् ।
जेन–जी आन्दोलनको स्पष्ट म्यान्डेटसहित गठित सरकारले एक साता बित्दा पनि पूर्णता नपाउँदा सीमित समयको सरकारको कार्यसम्पादन प्रभावित हुने टिप्पणी सुरु भएको छ । मन्त्रिपरिषद्मा जेन–जी समूहबाट प्रतिनिधित्व नहुने आशंका पनि बढेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार शुक्रबार वा शनिबारसम्म नयाँ मन्त्री टुंग्याएर आइतबार शपथ खुवाउने तयारी भए पनि नामहरूमा सहमति बनिसकेको छैन ।
प्रधानमन्त्री कार्कीले भदौ ३० गते अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल तथा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् । उनले नौदेखि ११ सदस्यीय सानो र छरितो मन्त्रिपरिषद् बनाउने बताउँदै आएकी छिन् । तर, त्यसपछि मन्त्रिपरिषद् विस्तार गरिएको छैन ।
यही बीचमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई मन्त्री बनाउन निकै जोडबल गरेका छन् । जेनजी समूहको प्रतिनिधित्व नहुने भएपछि बाबुरामले माइजू नाता पर्ने प्रधानमन्त्री कार्कीलाई छोरी मानुषीलाई मन्त्री बनाउन अनुनयविनय गरेको बताइन्छ । कार्कीका श्रीमान् दुर्गा सुवेदी बाबुरामका मामा नाता पर्छन् । त्यही भएर उनी कार्की प्रधानमन्त्री नियुक्त भएदेखि हरेक समारोहमा छुट्दैनन् ।
कार्की मन्त्रिपरिषदमा मानुषीसँगै जयराज आचार्य, मदनकुमार भट्टराई, बालानन्द शर्मा, शंकरदास वैरागी, नवराज सिलवाल, महावीर पुन, सर्वेन्द्र खनाललगायतको नाम चर्चामा छ । मन्त्री छनोटमा डा. अभिषेकराज सिंह, सुमना श्रेष्ठलगायतले पनि बाहिरबाट सहयोग गरिरहेको बताइएको छ ।














प्रतिक्रिया