काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूबीच चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ । आइतबार भएको छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए ।
शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन आह्वान र नेतृत्व परिवर्तनको प्रस्तावलाई लिएर साझा धारणा बनाउन ती नेताहरूबीच छलफल भएको हो । साथै, पार्टीको आगामी १५औँ महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने रणनीतिबारे पनि कुराकानी केन्द्रित भएको छ ।
कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अस्वस्थ भएर बैठकमा सहभागी थिएनन् भने अर्का पूर्वउपसभापति विजयकुमार गच्छदार काठमाडौं बाहिर थिए ।
पार्टीको आन्तरिक समीकरण, नेतृत्व परिवर्तन र आगामी महाधिवेशनका विषयमा छलफल गर्न नेताहरू जुटेका हुन् । ऐतिहासिक चाक्सीबारी जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको छ । बैठकमा सहभागी भएका नेताहरुको अनुहार मलिन देख्न सकिन्थ्यो । जेनजीले पुराना नेता अस्वीकार गर्ने भनेपछि कांग्रेसमा एक छिमलका नेताहरूको अब सान्दर्भिकता सकिएको विश्लेष हुन थालेको छ ।
बैठकमा विषम पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल केन्द्रित भएको प्रवक्ता महतले बताए । ‘विषम परिस्थितिमिा पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा छलफल गरेका छौँ । सभापतिज्यूले स्वास्थ्यलाभ गरेपछि केन्द्रीय समितिबाट निर्णय गरेर पार्टीलाई अघि बढाउनुपर्छ,’ उपस्थित सञ्चारकर्मीसँग उनले भने ।














प्रतिक्रिया