काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्री नियुक्तिको तयारी गरेकी छन् । प्रधानमन्त्री नियुक्त भएको १० दिन बितिसक्दा पनि मन्त्री नियुक्त गर्न नसकेको भन्दै आलोचना हुन थालेपछि उनले आजै सम्भवतः तीन मन्त्रीलाई नियुक्त गर्ने भएकी छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गर्ने टुंगो लागेको बताइन्छ ।
खरेल हाल इमेज खबरका प्रधान सम्पादक छन् । कार्कीले यसअघि सञ्चारमन्त्री बन्न अन्य प्रतिष्ठित पत्रकारहरूलाई पनि प्रस्ताव राखेकी थिइन्, तर उनीहरूले अस्वीकार गरेका थिए। सञ्चारमन्त्रीका लागि पत्रकार सुधीर शर्मा, किरण चापागाईलगायतको नाम चर्चामा थियो ।
स्रोतका अनुसार अन्य मन्त्रीको नियुक्तिबारे प्रधानमन्त्री कार्की आन्तरिक छलफलमै रहेकी छन् । अधिवक्तासमेत रहेकी अधिकारकर्मी मोहना अन्सारीको पनि मन्त्री बन्ने चर्चा छ । तीनैजनाको नाम राष्ट्रपति कार्यालय पुगेको बुझिएको छ । तर अन्सारीले सम्हाल्ने मन्त्रालयबारे कुनै जानकारी छैन ।
६ महिनामात्रै कार्यकाल रहेकाले पनि कोही पनि मन्त्री बन्न चाहेका छैनन् । तर प्रधानमन्त्री कार्कीले भने आफ्नो क्षेत्रमा चर्चामा आएकालाई मन्त्रीको अफर गर्दै आएकी छन् ।














प्रतिक्रिया