काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारीसाधनमा सोमबारदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ ।
देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्न आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो गएपछि ५० घन्टासम्म यात्रु सडकमै रोकिएका थिए । सोमबार बिहान ५ बजेदेखि यातायात सुचारु भएको छ । दशैंका बेला काठमाडौंबाट १८ लाख मानिस बाहिरिन्छन् ।














प्रतिक्रिया