मन्त्रीको नामको धज्जी उडाउँदै महावीर पुन


काठमाडौं – वैज्ञानिक महावीर पुनले मन्त्री नामको गरिमाको धज्जी उडाएका छन् । बौद्धिक व्यक्तित्व मानिने पुनलाई शिक्षा तथा विज्ञान प्रविधिमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । सोमबार बिहान मन्त्रीमा नियुक्तिलगत्तै सपथको तयारी छ ।

तर मन्त्री नियुक्त हुनुअघि नै पुनले शिक्षा क्षेत्रमा गर्न सकिने कामको सुझाव माग्दै आफूलाई शिक्षामन्त्री नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भनेर सम्बोधन गर्न भन्दै स्टाटस लेखेका छन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,’ उनले लेखेका छन् ।

पुनले पाँच महिनाभित्र गर्न सकिने काम र ‘आइडिया’बारे पनि सुझाव मागेका हुन् । उनले आफूलाई बधाई दिन खादा र माला लिएर नआउन पनि आग्रह गरेका छन् ।

‘कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनु होला,’ उनले फेसबुकमा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला ।

मन्त्री भनेको सरकारको प्रतिनिधि हो । पदमा जोसुकै पुग्न सक्छन् । तर पदको गरिमा भने कायम गर्न सक्नुपर्छ । महावीर पुनले मन्त्री नियुक्त नहुँदै आफ्नो असली अनुहार देखाइसकेका छन् ।