अख्तियारकै आग्रहमा पहिलो महिला स्वास्थ्यमन्त्री बन्ने मिश्राको चाहनामा ‘ब्रेक’


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रहमा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी डा.संगीता कौशल मिश्राको नाम ‘होल्ड’ मा परेको खुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई आइतबार स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी थिइन् ।

स्वास्थ्य सामग्री खरिदको ठेक्कामा अनियमितता गरेको उजुरीमा मिश्रामाथि अख्तियारको छानविन अन्तिम चरणमा पुगेको छ । यही कारण सिफारिस भएको उनको मन्त्री पद जोखिममा परेको छ। मिश्रा स्वास्थ तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिव हुन् । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य सामग्री खरिद विवादित बनेको थियो। त्यसैको उजुरीमाथि अख्तियारले छानविन अघि बढाएको थियो ।

स्वास्थ्यमन्त्री बन्ने निश्चित भएपछि मिश्राले अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । आफू एक नम्बरमा रहेकामा वरिष्ठताक्रम मिचेर सरकारले दोस्रो नम्बरका अर्का अतिरिक्त सचिवलाई सचिव बढुवा गरेपछि मिश्रा रुष्ट थिइन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा.विकास देवकोटालाई सचिव बनाएपछि उनी ६ महिना हाजिर नै नगरी बसेकी थिइन् ।

मन्त्रीका लागि निश्चित गरेर मिश्राले आइतबार अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । राजीनामा मन्त्रिपरिषद्ले आइतबार नै स्वीकृत गरेपछि प्रधानमन्त्री कार्कीले मन्त्रीमा मिश्रालाई सिफारिस गरेकी थिइन्। सार्वजनिक सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारले मिश्राउपर छानविन चलिरहेको र नियुक्ति नदिन सरकारलाई सुझाएको बताइएको छ ।

मिश्राको माइती भारत हो । उनी बिहे गरेर नेपाल आएकी हुन् । उनले अंगीकृत नागरिकता लिएकी छन् । अंगीकृत नागरिकता लिने प्रधानमन्त्रीबाहेक जुनसुकै राजकीय पदमा पनि नियुक्त हुन मिल्ने संवैधानिक प्रावधान छ ।