काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नोबेल र केएमसी अस्पतालका सञ्चालक डा.सुनिलकुमार शर्माले जेनजी आन्दोलनको उपलब्धिलाई शून्य बनाउन विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । उनले आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा योभन्दा ठूलो विद्रोह हुने चेतावनी पनि दिएका छन् ।
त्यसका लागि उनले जेनजी युवाहरुको आन्दोलनलाई आमजनताको आन्दोलन मानेर प्रत्यक्ष कार्यकारीको निर्वाचन, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा हुन नपाउने, एउटै निर्वाचन क्षेत्रबाट कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी सांसद हुन नपाउने, दुई कार्यकालबीचमा अनिवार्य अन्तराल हुनुपर्ने, दुई कार्यकालभन्दा बढी कोही पनि व्यक्ति पार्टी सभापति/अध्यक्ष बन्न नपाउने, चार वर्षमा दलहरूको अनिवार्य महाधिवेशन हुनुपर्ने, स्वतन्त्र न्यायपालिका निर्माण गर्न न्यायाधीशहरूको राजनीतिक नियुक्तिको परिपाटी हटाई लोकसेवा आयोग जस्ता निस्पक्ष निकायबाट योग्य व्यक्तिहरूलाई न्यायाधीस नियुक्त गरिनुपर्ने सुझाव दिएका छन् ।
‘समयमै राजनीतिक दलहरु र नेताहरुले सुझबुझसहित आफूले गरेका गल्ती र कैयौं राजनीतिक अपराधीकरणलाई आत्मसमीक्षा गरी नसच्याउने हो भने, सच्याउन तयार नहुने हो भने र जेन्जी आन्दोलनको उपलव्धिलाई शून्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ,’ शर्माले भनेका छन् ।
नेता शर्माले जीविकोपार्जनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनैतिक अधिकारबाहेक अन्य अधिकारहरू सुनिस्चित गर्ने साथै आर्थिकरुपमा विपन्न आमाबुबाहरुलाई आफ्ना छोराछोरीलाई उच्च शिक्षामा अध्ययनअध्यापन गराउन सहजरुपमा १ प्रतिशत व्याजदरमा सफ्ट लोन लिन पाउने व्यवस्था गर्ने र १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा हुनुपर्ने जस्ता आमजनताका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्ने कार्य संविधानबाटै गरिएन भने आजको १०-१५ वर्षभित्रमा फेरि यो भन्दा ठूलो आन्दोलन हुने उनको दाबी छ ।














प्रतिक्रिया