आफ्नै घर गुमाएका देउवा, प्रचण्ड, खड्कामाथि अर्को संकट, सम्पत्ति शुद्धीकरणमाथि अनुसन्धान हुने


काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्ना सारा सम्पत्ति र राजनीतिक भविष्य गुमाएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमन्त्री दीपक खड्कामाथि नयाँ संकट आइलागेको छ । देउवा, प्रचण्ड र खड्काको घरमा भेटिएका भनिएका जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेताहरूको घरमा भेटिएका जलेका नोटको नमुना संकलन गरी अनुसन्धान सुरु गरेपछि उनीहरू अनुसन्धानमा तानिने भएका हुन् ।

विभागले देउवाको बुढानिलकण्ठस्थित निवास, खुमलटारस्थित प्रचण्डको डेरा र पूर्वमन्त्री खड्काको घरमा जलेका नोटको नमुना संकलन गरेको छ। टोलीले तीनैजना नेताहरूको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।

कांग्रेस सभापति देउवाको निजी सचिवालयले जलेको पैसा भेटिएको र पैसा राख्न सुरुङ नै प्रयोग गरिएको दाबीसहितका भिडिओ भ्रामक भएको जिकिर गरेको थियो। उनका सहयोगी भानु देउवाले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले देउवा र खड्काको बुढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । तर केही भिडियो भने वास्तविक भएको फ्याक्टचेकमा देखिएको छ ।

घटनाको डेढ सातापछि विभागले अनुसन्धान सुरु गरेको हो । जलेका नोट सक्कली भएको पुष्टि भए उनीहरूमाथि अनुसन्धान थालिने विभागले जनाएका छ । देउवासँगै उनकी श्रीमती आरजु राणा देउवा पनि छानबिनमा तानिने छिन् । किनभने उनी निवर्तमान परराष्ट्रमन्त्री हुन् । सम्पत्ति शुद्धीकरण मुद्दा जसलाई पनि लाग्छ, तर देउवा, प्रचण्ड, आरजु र खड्का राजकीय सत्ता सम्हालिसकेका नेता हुन् । आफूले जीवनभर कमाएको सारा सम्पत्ति जलेपछि आरजु देउवा ट्रामामा रहेको उनी निकट नेताहरूको भनाइ छ । प्रदर्शनकारीले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएकाले देउवा दम्पति अहिले उपचारमा छन् ।

प्रचण्ड राजनीतिमा सक्रिय भइसकेका छन् । खड्का भने अहिलेसम्म सार्वजनिक हुन सकेका छैनन् ।