काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार चारजनालाई मन्त्री बनाएकी छन् ।
प्रधानमन्त्री कार्कीले केही मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरेकी छन् । उनले अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरेकी छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएको कानुन मन्त्रालय मन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग तथा भूमिसुधार र कानुनमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा जगदीश खरेललाई नियुक्त गरेका हुन् ।
आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि पाँचजनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन् । जसमा डा.संगीता कौशल मिश्राको नाम अन्तिम समयमा आएर काटिएको हो। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
शिक्षामन्त्री नियुक्त पुन म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका हुन्। उनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे। सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे। उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए। नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशिको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो। नवप्रवर्तनका अभियन्ता भनेर चिनिने पुनले आफ्नो आत्मकथा महावीर पुन पनि लेखेका छन्।
उद्योगमन्त्री नियुक्त सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले ६५ वर्षे उमेरहदका कारण २०८० कात्तिक १४ गते अवकाश पाएका थिए। न्यायाधीश नियुक्त हुनुअघि उनी लामो समय वरिष्ठ अधिवक्ताका रूपमा वकालतमा सक्रिय थिए। उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल मानिन्छन्। करिब सात वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहँदा उनले गरेका केही संवैधानिक फैसलाहरू महत्त्वपूर्ण छन्।
केपी ओली सरकारले गरेको संसद् विघटनको पहिलो निर्णय उल्ट्याउँदा संवैधानिक इजलासमा उनी पनि थिए। त्यतिबेला न्यायाधीश सिन्हाले संसद पुनर्स्थापनाको पक्षमा मत हालेका थिए। त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादमा फैसला गर्नेमा पनि उनी थिए।
सञ्चारमन्त्री खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी इमेज टिभीमा समाचार प्रमुखका रूपमा कार्यरत छन्। उनले लामो समयदेखि हट सिट नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन्। दोलखा निवासी खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि अध्ययन गर्दै छन्।
कृषिमन्त्री परियार समता फाउन्डेसनका अध्यक्ष हुन्। वरिष्ठ जलवायु तथा कृषिविज्ञ परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए। उनी अध्यक्ष रहेको समता फाउन्डेसन सन् २००९ मा स्थापना भएको हो। यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दै आएको छ। यो संस्था दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय छ। सप्तरीका परियारले उदयपुर सिमेन्ट र कृषि औजार काराखाना वीरगन्जको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए। उनी दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्।














प्रतिक्रिया