जेनजीको नाममा बुढाको शासन, चौतर्फी आलोचना


काठमाडौं । जेनजी आन्दोलनले पुरानो सत्ता ढाले पनि सरकारमा वृद्धवृद्धाकै ढलिमली हुने भएको छ । १८ देखि २८ वर्ष उमेर समूहकालाई जेनजी भनिन्छ । तर सुशीला कार्की नेतृत्वको सरकारमा एकजना पनि जेनजी समेटिएका छैनन् । कार्की आफैं ७३ वर्षकी भइसकेकी छन् । जबकि हिजो ७४ वर्षीय केपी ओलीलाई बुढापाका भन्दै प्रधानमन्त्रीबाट हटाइएको थियो ।

जेनजीको सरकार भने पनि बुढाबुढीकै हालीमुहाली भएको भन्दै स्वदेशमा मात्र होइन, विदेशमा पनि यसबारे व्यापक चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियामा नेपालको मन्त्रिपरिषदमा रहेका व्यक्तिहरूको उमेरको विषयलाई लिएर चर्चा गरिएको छ । यो सरकारमा रहेका सबैभन्दा कान्छो सञ्चारमन्त्री जगदीश खरेल ४३ वर्षीय हुन् । त्यसपछि गृहमन्त्री ओमप्रकाश अर्याल ४९ वर्षका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ ५४ वर्षका छन् । अरु सबै ज्येष्ठ नागरिक हुन् ।

अर्थमन्त्री रामेश्वर खनाल ६९ वर्षका भए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा ६९, शिक्षामन्त्री महावीर पुन ७० र कृषिमन्त्री मदन परियार ७४ वर्षका भए । उमेर मात्र होइन, अहिलेको सरकारमा रहेका अधिकांश् मन्त्री एनजीओकर्मी भन्दै सर्वसाधारणले विरोध गर्न थालिसकेका छन् । खासगरी कार्की सरकारलाई बारबारा फाउन्डेसनले बनाएको भन्दै चर्चा सुरु भएको छ ।

मन्त्रिमण्डलमा देखिएका अनुहारहरु अमेरिकासँग जोडिएको गैरसरकारी संस्थामा आबद्ध छन् । कृषिमन्त्रीमा नियुक्त भएका परियार समता फाउण्डेसनको अध्यक्ष हुन् । उनको फाउण्डेसनले युएसएआईडी, ओपन सोसाइटी फाउण्डेसन र द एसिया फाउण्डेसनबाट सहयोग ल्याउने गरेको छ । युएसआईडी र एसिया फाउण्डेसन अमेरिकी संस्था हो । सञ्चारमन्त्री बनेका पत्रकार खरेल पनि बारबरा फाउण्डेसनमा आबद्ध थिए ।