आफूलाई फलो गर्नेलाई नछाड्ने सुदन गुरुङको चेतावनी, को हो पछ्याउने ?


काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले आफूलाई फलो गर्नेलाई भेटेमा नछोड्ने चेतावनी दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै फलो गरिरहेको बताउँदै भेटेमा नछाड्ने बताएका हुन् ।

गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन्। ‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई,’ उनले भिडिओ सन्देशमा भनेका छन्, ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है। गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू।’

गुरुङले अहिले मन्त्रिपरिषद्‌मा राम्रा राम्रा मन्त्रीहरू गएको दाबी गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन्। ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो( तपाईंहरूलाई, उनले भनेका छन्, मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ,’ उनले भनेका छन् ।

यसअघि पनि गुरुङमाथि विभिन्न ठाउँमा हातपातको प्रयास भएको थियो । त्यसपछि गुरुङले आफूलाई एउटा समूहले रानीबारीदेखि नयाँ बानेश्वरसम्म पछ्याएको दाबी गरेका थिए ।