काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।
वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले महाधिवेशनको दबाब दिन हस्ताक्षर संकलन थालेका हुन् । सोमबार काठमाडौंमा बैठक गरी संस्थापन इतर समूहले जेनजी आन्दोलनपछिको विशिष्ट अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्षसहित हस्ताक्षर थालेको हो ।
एक सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्। ‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसामु धेरै संकटहरु उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीहरुसँग मुकाविला गर्यौँ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ,’ हस्ताक्षर पत्रमा उनीहरुले भनेका छन्, ‘तसर्थ यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।
कांग्रेसको १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।भदौ २४ गतेको जेनजी प्रदर्शनकारीको आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा हाल उपचाररत छन् । उनले तत्काल पार्टीको बैठक बोलाउने वा महाधिवेशनबारे कुनै जवाफ दिने अवस्था छैन ।
हस्ताक्षर गर्नेमा शेखर कोइराला समूहमा खुल्दै आएका नेताहरु छन्। ‘नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरु निरुपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महसुस गरी हामी महाधिवेशन प्रतिनिधिहरु कांग्रेसका सम्पूर्ण साथीहरुलाई यस अभियानमा जोडिन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ l
कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । सभापति देउवाको दोस्रो कार्यकाल पनि दुई महिनापछि सकिँदैछ । त्यही भएर अहिले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरी चुनावमा जानुपर्ने आवाज उठेको हो ।












प्रतिक्रिया