काठमाडौं । कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्न पाउँदैनन् । तर, विधानअनुसार नै म्याद थपेर थप एक वर्ष नेतृत्वमा रहन सक्छन् । कांग्रेस विधानले नै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने अधिकार दिएको छ । यही व्यवस्थामा टेकेर संस्थापन पक्ष एक वर्ष म्याद थप्ने रणनीतिमा देखिँदा इतर समूहले विशेष महाधिवेशनमा जोड दिँदै हस्ताक्षर अभियानसमेत सुरु गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । पार्टी विधानअनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्छ । तर, जेन–जी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको, अभिलेख जलेर नष्ट भएको र सदस्यताको विषय नटुंगिएको कारण देखाउँदै संस्थापन म्याद थप्ने दाउमा रहँदा इतर समूहले तत्काल विशेष महाधिवेशनका लागि दबाब बढाएको छ ।
काठमाडौंमा उपलब्ध १०९ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको छ । बाँकीलाई पनि हस्ताक्षर गराउन फर्म्याट तयार हुँदै गरेको युवानेता गुरुराज घिमिरेले बताए । दसैँभर आवश्यक संख्या पुर्याएर विशेष महाधिवेशनका लागि लिखित आग्रह गर्ने उनको भनाइ छ । कोजाग्रत पूर्णिमाको दिनसम्म विशेष महाधिवेशनका लागि निवेदन दिने उनीहरूको तयारी छ ।
गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतले पार्टी पुर्नगठन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । शेखर कोइराला यही मेसोमा विशेष महाधिवेशन बोलाएर सभापति हुा सकिन्छ कि भनेर लागिपरेका छन् । तर जेनजी आन्दोलनपछि अहिलेको विद्यमान पार्टीमा व्यापक पुर्नसंरचना सम्भव भएन भने चुनावमा कांग्रेसको के हविगत होला भनेर कसैले भन्न सक्ने अवस्था छैन ।
तर पार्टी पुनर्गठनको अभियानमा लागेका युवा नेताहरूलाई बुढा नेताहरूले चुनौती दिन थालेका छन् । प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विमलेन्द्र निधि, शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ जस्ता डेट एक्सपायर नेताहरू देउवालाई रिझाएर अझै पनि पार्टीमा हालीमुहाली गर्न सकिन्छ कि भन्ने अभियानमा लागेका छन् । यत्रो ठक्कर खाँदा पनि उनीहरूमा चेत आएको छ ।
देउवाको विकल्प शेखर कोइराला विकल्प होइनन्। उनी आत्मकेन्द्रित राजनीति गर्ने व्यक्ति हुन् भन्ने कांग्रेस कार्यकर्ताले बुझेका छन् । १४औं महाधिवेशनमा एकपटकलाई सभापति भनेर उठेका उनी अहिले आफैं अघि सरेका छन् । उनले शेरबहादुर खेमाको विरोध गर्नेबाहेक आफ्ना दृष्टिकोण देखाउन सकेका छैनन्। कोइराला परिवारको सदस्य हुनु र अलिकति वाकपटु हुनुबाहेक उनमा विशेष गुण छैन। अहिलेको समयको मागलाई उनले सम्बोधन गर्न सक्दैनन्।
स्थानीय निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल जस्ता स्वतन्त्र उमेदवारहरुको विजय कांग्रेसलगायतका पुराना दलका लागि झस्काउने र परिवर्तन हुनुपर्ने समय थियो। उनीहरुले त्यसलाई बुझेको देखिएन।
अझैसम्म पनि नेपालको आन्तरिक राजनीति र भूराजनीतिक सन्तुलनका लागि कांग्रेसको जस्तो वैचारिकी भएको र इतिहासको विरासत प्राप्त पार्टी नेपाललाई आवश्यक छ। त्यसैले अहिले गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलमा धेरैकाे आशा छ ।












प्रतिक्रिया